सके पार्टी एकता गर्ने र नसके चुनावमा तालमेल गरेर पुराना र ठूला भनिएका पार्टीहरुलाई धक्का दिने प्रयासमा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीचको पार्टी एकता र चुनावी सहकार्य भाँडिएको छ ।
योसँगै दुवै पार्टीहरु र काठमाडैं महानगरपालिकाका मेयर बालेन साहसमेतलाई मिलाएर बलियो बैकल्पिक पार्टी बनाउने अभियानमा रहेका पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठलगायतका नेताहरु भने यता न उताको अवस्थामा पुगेका छन् । केही समय अघि रास्वपा त्यागेकी श्रेष्ठ रास्वपा, उनेपा र साहसमेतका स्वतन्त्र भनिएका व्यक्तिहरुलाई सकेसम्म एउटै पार्टी बनाउने, नसके चुनावी तालमेल गराउने प्रयास गर्दै आएकी छन् ।
उर्जा मन्त्री कुलमान घिसिङ ‘डिफ्याक्टो लिडर’ रहेको उनेपाले आफ्नो पार्टीको लोकप्रियताबाट तर्सिएर रास्वपाले एकता र सहकार्यको नाममा आफूहरुलाई अल्मलाएको ठहर उनेपाको गत बिहीवारको केन्द्रीय समितिको ५औँ बैठकले गरेको थियो । पार्टीको उक्त निर्णयको बारेमा उनेपाले रास्वपालाई समेत जानकारी गराएपछि दुई पार्टी बीचको वार्ता र सहकार्य पूर्णरुपमा भाँडिएको हो ।
यद्धपी रास्वपाका केही नेताहरु भने पार्टी एकता सम्भव नभए पनि उम्मेद्वारले मनोनयन पत्र दर्ता गर्ने दिनसम्म चुनावी तालमेलको सम्भावना रहेको बताउँछन् । तर, उनेपाले भने रास्वपा उनेपाको लोकप्रियताबाट आत्तिएको निष्कर्षसहित अब उसँगको एकता र तालमेलको लागि वार्ता गर्ने नाममा समय बर्बाद नगर्ने बताएको छ ।
रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल र पुकार बम साथै उनेपाबाट गणेश घिसिङ, तारा जोशी र जिता लामालगायतका नेता निरन्तर संवादमा थिए ।
सहकारी ठगी प्रकरणमा जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेले कुलमानको उदयसँगै आफू ओझेलमा पर्ने भयले सहकार्य गर्न नदिएको उनेपाका नेताहरु बताउँछन् । ‘आफू ठगी प्रकरणमा जेल पर्नु भएको छ । र त्यो मुद्दामा अदालतले के निर्णय दिने हो थाहा छैन, यस्तो अवस्थामा पनि उहाँलाई म भन्दा अरु लोकप्रिय होलान कि भन्ने भय देखियो । त्यसैले हामीलाई उम्मेद्वारको मनोनयन पत्र हुने दिनसम्मै अल्मलाउन हाल्ने र सँगठन विस्तारमा पनि अप्रत्यक्षरुपमा अवरोध सृजना गर्ने नियत देखेपछि हामी झस्किएका बताए । रविजीलाई सभापति स्वीकार गरेर आफू सहसंयोजक बस्न तयार हुनुभएको हो । रविजी सभापति र कुलमानजी भावी प्रधानमन्त्री बन्ने गरी एकता गर्न रास्वपाकै थुप्रै साथीहरू पनि तयार हुनुहुन्थ्यो । तर, सहमति नजिक पुगेर पनि रास्वपाभित्रैबाट बिथोल्ने काम भयो।


प्रतिक्रियाहरू
प्रतिक्रिया दिन लगइन गर्नुहोस्।