बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनविरुद्ध उभिएका युवा तथा आन्दोलनकारी नेताहरू एकपछि अर्को गरी गोली हानी मारिन थालेपछि देशमा गम्भीर चिन्ता बढ्दै गएको छ। पछिल्ला दिनहरूमा सार्वजनिक स्थानमै भएका यस्ता हत्याकाण्डले बंगलादेशको राजनीतिक अवस्था थप अस्थिर बन्दै गएको संकेत गरेको छ।
बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्यून का अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्ति केन्द्रीय संयोजक मोतेलेब सिकदर सोमबार बिहान करिब ११:४५ बजे खुलनाको सोनाडाङ्गा क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका थिए। स्थानीयले तत्काल उद्धार गरी खुलना मेडिकल कलेज अस्पताल पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
यो घटना केही दिनअघि भएको अर्को सनसनीपूर्ण हत्यासँग जोडिएर हेरिन थालेको छ। गत डिसेम्बर १२ मा इन्कलाब मञ्चसँग आबद्ध चर्चित विद्यार्थी नेता उस्मान हादीलाई ढाकाको सार्वजनिक स्थानमै गोली हानिएको थियो। टाउकोमा गोली लागेर गम्भीर घाइते भएका हादीलाई उपचारका लागि सिंगापुर लगिएको भए पनि डिसेम्बर १८ मा उपचारकै क्रममा उनको मृत्यु भएको थियो। हादीको हत्यापछि ढाकासहित विभिन्न सहरमा विरोध प्रदर्शन र हिंसात्मक गतिविधि फैलिएको थियो।
लगातार दुई प्रभावशाली युवा नेताको हत्या भएपछि बंगलादेशमा “हसिनाविरोधी धारमा उभिएका नेताहरू योजनाबद्ध रूपमा निशानामा परिरहेका त होइनन्?” भन्ने प्रश्न तीव्र बनेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यी घटनाले व्यक्तिगत रिसइवीभन्दा गहिरो राजनीतिक सन्देश बोकेको देखिन्छ। विशेषगरी विद्यार्थी र श्रमिक आन्दोलनमार्फत सरकारविरुद्ध आवाज उठाएका पात्रहरू क्रमशः निशानामा पर्नु चिन्ताजनक भएको उनीहरूको ठम्याइ छ।
घटनापछि खुलना क्षेत्रमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। सोनाडाङ्गा मोडेल प्रहरी चौकीका अनुसन्धान इन्चार्ज अनिमेष मण्डलले अज्ञात समूहद्वारा गोली प्रहार भएको पुष्टि गर्दै घटनाको गहिरो अनुसन्धान भइरहेको बताएका छन्। यद्यपि, आक्रमणकारीको पहिचान र उद्देश्यबारे अहिलेसम्म कुनै ठोस विवरण सार्वजनिक भएको छैन।
एकपछि अर्को गोलीकाण्डले बंगलादेशी समाजमा भयको वातावरण सिर्जना गरेको छ। सामाजिक सञ्जालदेखि सडकसम्म “आज उस्मान हादी, भोलि मोतेलेब सिकदर—अब को?” भन्ने प्रश्न गुञ्जिन थालेको छ। हसिनाविरोधी आन्दोलनसँग जोडिएका युवा नेताहरू निरन्तर मारिन थालेपछि बंगलादेश नयाँ र गहिरो राजनीतिक संकटतर्फ धकेलिँदै गएको विश्लेषकहरूको निष्कर्ष छ।


प्रतिक्रियाहरू
प्रतिक्रिया दिन लगइन गर्नुहोस्।